दुर्घटनामा विदेशी नागरिकको मृत्यु
चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्वर ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा आज बिहान ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् ।
बिहान १०ः १५ बजे फिस्लिङस्थित पृथ्वी राजमार्गमा भएको दुर्घटनामा परेर जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार, उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । नारायणगढबाट काठमाडौं जाँदै गरेको ना ४१ प ५४८ नंको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको गरेको बागमती प्रदेश ०३–००१ च १६८२ नंको पिकअप गाडी ठक्कर खाएको हो ।
ठक्कर खाएका दुवै सवारीसाधन सडकबाट ५० मिटर तल खसेका छन् । यस्तै, दुर्घटनामा परेर मोटरसाइकलमा सवार एक विदेशी नागरिक र पिकअप गाडीमा सवार एक जना घाइते भएका छन् । मोटरसाइकल चालक जर्मनी नागरिकको मृत्यु भएको हो भने पछाडि सवार विदेशी महिलाको अवस्था मध्यम रहेको छ ।
पिकअप गाडीमा सवार तीन जनामध्ये धादिङको गल्छी गाउँपालिका–५ बस्ने ७३ वर्षीय वीरबहादुर तामाङ घाइते छन् । घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिकअप गाडी चालक र सहचालक प्रहरीको नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
