भीमफेदीमा मंसिर २९ गतेबाट महोत्सव हुने

तु खबर संवाददाता
२०७९ मंसिर २०,मंगलवार १६:४५

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा पहिलो पटक भीमफेदी–हेटौंडा–सामरी महोत्सव हुने भएको छ । ओम शक्ति मारुती इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मंसिर २९ गतेबाट पुस १० गतेसम्म भीमफेदी–१ को खोप्लाङमा महोत्सवको आयोजना हुने भएको हो ।

मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रालिका अध्यक्ष अजित राईले हेटौंडा बजार क्षेत्रमा हुने मेला महोत्सवलाई गाउँपालिकामा पनि लैजाने उद्देश्यले आफुहरुले महोत्सवको तयारी गरेको जानकारी गराए ।

भीमफेदी–हेटौंडाको पर्यटक प्रर्वद्धन, कला साहित्यको प्रचारसहित ब्यापार व्यवसायलाई बढवा दिनको लागि महोत्सवको आयोजना गर्न लागिएको राईले बताए ।

उनका अनुसार, करिब १ सय ५० देखि २ सय वटा स्टल रहने महोत्सवमा राष्ट्रिय कलाकारहरु धिरज राई, बद्री पंगेनी, मिलन लामा, ज्योति मगर, प्रिती आले, एलिना चौहान लगाएतका कलाकारहरुले प्रस्तुती दिनेछन् ।

मेलामा सहभागीले १ सय रुपैँयाको टिकट काटनुपर्नेछ । मेलामा बाल उद्यम, विभिन्न खेलकुद, खाना, लुगा कपडा, कृषि प्रर्दशनी लगाएका स्टलहरु रहने आयोजकले जनाएको छ ।