दृष्टिबन्धकी जग्गा फिर्ता माग गर्दै धर्नामा बसेका समुहमाथि दुर्व्यवहार

तु खबर संवाददाता
२०७९ मंसिर ११,आईतवार १५:५३

मकवानपुर । आफ्नो दृष्टिबन्धकी जग्गा फिर्ता माग गर्दै धर्नामा बसेका समुहलाई पीडक पक्षले दुर्व्यवहार गरेका छन् । हेटौंडाको बुद्धचोकमा पीडक नियमराज शाक्यका समुहले पीडित जगतबहादुर विकसहितको समुहलाई दुर्व्यवहार गरेको हो ।

जगत बहादुरको बन्धकी जग्गा फिर्ता गर्न माग गर्दै गत मंसिर २९ गतेदेखि हेटौंडा–१ बुद्धचोकस्थित पीडक नियमराज शाक्यको घर अगाडी धर्ना दिदै आएका थिए । दशौँ दिनको दिन धर्ना दिने क्रममा नियमराजसहित उनका सालो रुपकराज बज्रचार्यको समुहले दुर्व्यवहार गरेका हुन् ।

रुपकराजले धर्ना दिएर आफ्नो बाटो अवरोध गरेको भन्दै धर्ना बसेकाहरुलाई हातपात गरेका हुन् । पीडित जगत बहादुरले आफुनो बाबु लालबहादुर सुनारको नाममा हेटौंडा–१३ पदमपोखरीको ११ कठ्ठा १६ धुरजग्गा २५ वर्षअघि (२०५६ सालमा) नियमराजसंग दृष्टिबन्धकी राखेर ५० हजार रुपैयाँमा लिएका थिए ।

उक्त ऋण बापदको रकम र ब्याजसहितको रकम पटक–पटक फिर्ता गर्न खोज्दा नियमराजले लिन नमानेको जगत बहादुरले बताए ।

आफुले २०५९ सालदेखि ऋण बापदको रकम र ब्याज फिर्ता गर्न खोज्दा हालसम्म पैसा लिएर जग्गा फिर्ता नगरेको जगत बहादुर बताउँछन् । २० वर्षदेखि आफ्नो दृष्टिबन्धकी भनेर राखिएको जग्गा फिर्ता गर्न नसकेपछि सडकमा धर्ना दिनु परेको दुखेसो गरे ।