हेटौंडामा सवारी दुर्घटना, दुई जना गम्भीर घाइते

तु खबर संवाददाता
२०७९ मंसिर ९, शुक्रबार १६:४०
File Photo

मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ गौरीटारस्थित शुक्रबार दिउँसो सवारी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

दिउँसो साढे ३ बजेको समयमा फुर्केचौरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ४ ख ९००२ नम्वरको बसले विपरित दिशाबाट जाँदै गरेको बा ९९ प २९८१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा हेटौंडा–१८ हर्नामाडी ब्रदर्श चोक बस्ने अन्दाजी २८ वर्षीय आशिस ढकाल र २९ वर्षीय दिपु लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, बस चालक सम्पर्कमा नआएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।