र्दुघटनामा परेर दुई जनाको मृत्यु, ३ घाइते
जनकपुरधाम । सर्लाहीमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किए दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा बाराको कलैया उपमहानगरपालिका–१६ बस्ने ४५ वर्षीय कन्हाई चौधरी र महोत्तरीको बर्दिवास नगरपालिका–६ बस्ने २५ वर्षीय सुनिल आले मगर रहेका छन् ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई मलंगवा अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ जंगलमा प्रदेश नं.२–०३–००४ प ७८८४ र ज ११ प ८१० नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।
मोटरसाइकलमा पछाडि सबार कलैया नगरपालिका ३ ब्रम्हपुरी बस्ने ३२ वर्षीय अजय कुमार पटेल, २४ वर्षीया रुबिना तामाङ र २४ वर्षीया युवराज राई घाइते भएका छन् । घाइतेको स्थानीय स्तरमा उपचार भइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
