दुर्घटनामा परेर एक जनाको मृत्यु, ६ घाइते
धादिङ । धादिङमा शनिबार बोलेरो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्लाको ज्वालामुखी गाउँपालिका ४ टारीस्थित भित्री सडक खण्डमा ग १ ज ५५८० नम्वरको पराल बोकेर आएको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु र ६ जना घाइते भएका हुन् ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३५ वर्षीय उत्तम अर्याल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्ररहीका अनुसार, दुर्घटनामा परेर अर्यालको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै, दुर्घटनामा परेर घाइते हुनेहरुमा सोही ठाउँ बस्ने बोलेरो चालक २० वर्षीय समिर गदेल, ३१ वर्षीय प्रकाश अर्याल, ३८ वर्षीय सोमबहादुर दुवाडी, ४२ वर्षीय रामबहादुर विक, ५२ वर्षीय किसन विक र १५ वर्षीय प्रितम गदेल रहेका छन् । घाइते सबैलाई जिल्ला अस्पताल धादिङ पठाइएको प्रहरीले जनाएको छ ।
