दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक २६, शनिबार १६:०५

सर्लाही । सर्लाहीको ईश्वरपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बयलवासबाट तीब्र गतिमा चन्द्रनगरको नाढिमैनतर्फ जाँदै गरेको हाल नम्वर नखुलेको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका–६, का विजय मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेका मुखियाको मुख, टाउको लगायत शरीरको विभिन्न भागमा चोट लागेको थियो । उनलाई स्थानीयले गम्भीर अवस्थामा उद्धार गरी नजिकैको सिद्विविनायक अस्पताल पुर्‍याएका थिए । अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको हो ।

घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । मृतक युवकको शव प्रहरीले प्रादेशिक अस्पताल मलंगवामा परीक्षणपश्चात आफन्तको जिम्मा लगाएको छ ।