हेटौंडामा तातो तेलले पोलेर दुई जना घाइते
मकवानपुर । मकवानपुरको हेटौंडामा आज बिहान तातो तेलले पोलेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ बनस्पति बस्ने ३४ वर्षीय निरबहादुर भोलन र २७ वर्षीय सागर जिम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्थानीय कालेश्वर मन्दिरमा लागेको मेलामा विहान साढे १ बजेको समयमा बसिरहेका बेला हेटौंडा–१९ बस्ने २८ वर्षीय मोहन दोङले मापसे गरी अचानक सेल पकाउने तातो तेल अनुहारमा प्रहार गर्दा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
घाइते उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । कार्कीका अनुसार, तेल प्रहार गर्ने दोङलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
