गएराति गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु
डोटी । डोटीमा केन्द्रविन्दु भएर गएराति गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ । अन्य पाँच जना भने घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
मंगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए ।
मृत्यु हुनेहरुमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा रहेका छन् ।
यस्तै, भूकम्पमा परी पाँच जना घाइते रहेका र उपचारका लागि अस्पताल लगिएको छ । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।
यस्तै, भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रमा समेत केही स्थानमा पहिरो गएकोछ । त्यसअघि पनि राति ९ः७ बजे दिपायलमा केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि यहाँ पटक–पटक झट्का महसुस भएको थियो ।
त्यस्तै, भूकम्पको झड्का कैलाली र कञ्चनपुरमा समेत महसुस भएको थियो । यता बझाङमा पनि भूकम्पको धक्कापछि यहाँका स्थानीय खुला ठाउँमा जाग्राम बसेका छन् ।
