हेटौंडामा अन्तरविद्यालय क्रिकेट प्रतियोगिता हुने

तु खबर संवाददाता
२०७९ कार्तिक २२,मंगलवार १७:२७

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबारबाट अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । हेटौंडा–४ हुप्राचौरमा संचालन हुने उक्त प्रतियोगिता मकवानपुर क्रिकेट संघका पूर्वकप्तान स्वर्गीय निरज श्रेष्ठको स्मृतिमा आयोजना गर्न लागिएको हो ।

मकवानपुर क्रिकेट संघले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराएको हो । सम्मेलनमा मकवानपुर क्रिकेट संघका कार्यबाहक सचिव विनोद कुमार बानियाँले प्रतियोगिताको लागि मंगलबारसम्म १२ वटा टिम दर्ता भएको जानकारी दिए ।

प्रतियोगितामा सहभागिता जनाएका सबै टिम हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रकै रहेको उनले बताए । प्रतियोगिता अन्तर्गत हरेक दिन बिहान ९ बजे र दिउँसो १ बजे गरी दुई खेल संचालन हुनेछ ।
आगामी मंसिर १ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँ र उपविजेताले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

मकवानपुर क्रिकेट संघका अध्यक्ष वासुलाल श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा क्रिकेट संघका केन्द्रीय सदस्य करण महत्रा क्षेत्री, प्रदेश क्रिकेट संघका उपाध्यक्ष प्रेम क्षेत्री र प्रतियोगिताका संयोजक धिरज श्रेष्ठको सहभागिता रहेको थियो ।