मकवानपुरमा थप १३९ जनामा डेंगु संक्रमण, सबैभन्दा धेरै हेटौंडाका
मकवानपुर । मकवानपुरमा थप १३९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा सबैभन्दा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ एकैदिन १०० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी, थाहानगरपालिकाका २० जना, मनहरी गाउँपालिकाका ८ जना, भीमफेदी र बकैया गाउँपालिकाका ३/३ जना, मकवानपुरगढी र कैलाश गाउँपालिकाका १/१ जना, अन्य जिल्लाका २ जना र हाल ठेगाना नखुलेका १ जना रहेका छन् ।
यससँगै जिल्लामा डेंगु संक्रमितको कूल संख्या ५ हजार १८४ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि सोमबारसम्मको हो । जसमा २ हजार ८७१ जना पुरुष र २ हजार ३१३ जना महिला रहेका छन् ।
जिल्लामा उक्त संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।
