हेटौंडा–९ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रलाई भवन हस्तान्तरण
मकवानपुर । हेटौंडा उपमहानगपालिका वडा नम्वर ९ स्थित सेवा क्यानडा इन्टरनेशनलको सहयोग तथा सेवाका लागि युवा नेपालको समन्वयमा बनेको भवन सामुदायिक प्रहरी सेवा केन्द्रलाई सोमबार हस्तान्तरण गरिएको छ ।
सेवाका लागि युवा नेपालका अध्यक्ष छेवाङ कर्मा तामाङले सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम विष्टलाई एक कार्यक्रमबीच भवनको स्वामित्व हस्तान्तरण गरेका हुन् ।
भवन तथा स्वास्थ्य उपकरणको स्वामित्व हस्तान्तरण पत्रमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमलेसमेत हस्ताक्षर गरेका छन् ।
उक्त भवनमा २० शैयाको आइसोलेसन कक्ष निर्माण गरिएको छ । साथै विभिन्न स्वास्थ्य उपकरण तथा केही औषधीसमेत तयारी अवस्थामा राखिएको सेवा केन्द्रका अध्यक्ष विष्टले जानकारी दिए ।
उनका अनुसार, २०७६ माघ १२ गते निर्माण सम्झौता भएको भवन तथा आइसोलेसन कक्षको कुल लागत ४७ लाख २३ हजार रुपैयाँ रहेको छ ।
