मकवानपुरका किसान धान भित्र्याउन व्यस्त

तु खबर संवाददाता
२०७९ कार्तिक १३,आईतवार १८:०९
file-photo

मकवानपुर । तिहार सकिए लगतै मकवानपुरका किसानहरु धान भित्र्याउन व्यस्त छन् । जिल्लाको दश वटै स्थानीय तहका किसानहरु अहिले धान काट्ने र चुट्ने काममा व्यक्त भएका हुन् ।

जिल्लाको हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका किसानहरु धान काट्ने र चुट्ने काममा व्यस्त भएका हुन् ।

धानमा केही बाला सुकेको समस्याले किसान चिन्तित पनि छन् । किसानहरुलाई कुनै बेलामा पानी पर्ने होकी भन्ने चिन्ताले झनै समस्या परेको मकवानपुरगढीका किसान श्याम सापकोटा बताउँछन् । सापकोटा भन्छन्, ‘धान काटेर खेतमा तीन÷चार दिनसम्म सुकाउनुपर्ने भएकाले त्यसबेलामा पानी आउने होकी भनेर चिन्ता पनि परेको छ ।’

पहिले पहिले दुई, चार दिन बिराउँदै पोकेको धानबाली काट्ने र झाट्ने गरिन्थ्यो । तर, गत वर्ष वर्षातले सबै बाली सखाप पारेको थियो । यसपालि पनि वर्षात हुन्छ भन्ने डरले धानबाली भित्र्याउन बिहानदेखि बेलुकीसम्म खटिनु परेको किसानहरु बताउँछन् ।