मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार नाघ्यो

तु खबर संवाददाता
२०७९ कार्तिक १२, शनिबार ०९:३५
file-photo

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार नाघेको छ । जिल्लामा गत साउन महिनादेखि शुक्रबारसम्ममा ५ हजार २४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा २ हजार ७९० जना पुरुष र २ हजार २३४ जना पुरुष गरी ५ हजार २४ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै डेंगु संक्रमित हेटौंडा उपमहानगरपालिकामा रहेका छन् । जसअनुसार, हेटौंडा उपमहानगरपालिकामा २ हजार १९८ जना पुरुष र १ हजार ७४७ जना महिला गरी ३ हजार ९४५ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, डेंगु संक्रमण पुष्टि हुनेमा मनहरी गाउँपालिकामा ३७९ जना पुरुषर ३३३ जना महिला गरी ७१२ जना, थाहानगरपालिकामा ९४ जना पुरुष र ५३ जना महिला गरी १४७ जना, मकवानपुरगढी गाउँपालिकामा ४२ जना पुरुष र २८ जना महिला गरी ७० जना, भीमफेदी गाउँपालिकामा १७ जना पुरुष र २० जना महिला गरी ३७ जना रहेका छन् ।

यसैगरी, बकैया गाउँपालिकामा १२ जना पुरुष र २४ जना पुरुष गरी ३६ जना, राक्सिराङ गाउँपालिकमा १५ जना पुरुष र ४ जना महिला गरी १९ जना, बागमती र कैलाश गाउँपालिकामा ४/४ जना पुरुष र ३/३ जना महिला गरी ७/७ जना, हाल ठेगाना नखुलेका १४ जना पुरुष र १३ जना महिला, अन्य जिल्लाका १० जना पुरुष र ४ जना महिला गरी १४ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा उक्त संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।