दुर्घटनामा परेर हेटौंडाकी मगरको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक १२, शनिबार ०८:१६

वीरगञ्ज । बाराको पथलैयामा बस र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा हेटौंडाकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ हटियाकी ४५ वर्षीया होमा थापा मगर रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा हेटौंडातर्फ आउँदै गरेको गरेको बागमती प्रदेश–०३–०४ प ८९७८ नम्वरको मोटरसाइकल सोही दिशाबाट आउँदै गरेको ना ५ ख ५८०५ नम्वरको बससँग ठोक्किएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी उनलाई उपचारका लागि सिमरास्थित अल्पाइन अस्पतालमा लगिएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

यस्ते सोही दुर्घटनामा परेर मोटरसाइकल चालक २३ वर्षीय पुजन थापा मगर घाइते भएका छन् । पुजनको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पुजन मृतक होमाका छोरा हुन् । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।