सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु
सुनसरी । सुनसरीमा गएराति छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको इटहरी–१७ पकलीस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश १–०२–०४३ प ९०८७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिँदा ठेला चालक इटहरी–१७ का ४५ वर्षीय तेजनारायण साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
मोटरसाइकल चालक मोरङ बेलबारी–८ का ४५ वर्षीय बिक्रम खड्का घाइते भएको र उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यसैगरी, इनरुवा–५ दुहबी इनरुवा सडकखण्डमा नम्बर नखुलेको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्री बराहाक्षेत्र–८ का २७ वर्षीय जीवन राउतको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएकामा उनको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलको खोजी भइरहेको जनाइएको छ ।
त्यसैगरी, भोक्राहा नरसिंह गाउँपालिका–५ जनताचोकस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग ३ च ५५७६ नम्बरको कारले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत सुपौल बनौली पञ्चायतका ३५ वर्षीय गुलाब मेहता रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भर्इ उपचारका क्रममा मेहताको जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । ठक्कर दिने कार र चालक रुपन्देही सैनामैना–४ का ५४ वर्षीय कृष्णबहादुर रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
