हेटौंडाको टिसिएनस्थित तरकारी बजारमा आगलागी
हेटौंडा । हेटौंडा १० टिसिएनस्थित तरकारी बजारमा आज दिउँसो आगलागी हुँदा ५ वटा तरकारी पसल र एउटा होटलमा पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दिउँसो १२ः ३८ बजेको समयमा भएको आगलागीबाट करिब डेढ करोडभन्दा बढी क्षति भएको आँकलन गरिएको छ ।
नेपाल फलफूल तथा तरकारी व्यवसायी संघ मकवानपुरका महासचिव कृष्ण हुमागाईंका अनुसार मीना गुरुङले संचालन गरेको होटल तथा हरि खुलाल, दशरथ महर्जन, केशव दाहाल, बद्री घिमिरे र भरत खुलालले सञ्चालन गरेको तरकारी पसलमा गरी डेढ करोडभन्दा बढीको क्षति भएको छ ।
आगलागीबाट तरकारी पसलमा रहेको नगदसमेत जलेर नष्ट भएको छ भने केही आधा मात्रै जलेको नोट प्रहरीले फेला पारेको छ । होटलमा लगातार ८ वटा ग्याँस सिलिण्डर पड्किएको थियो । होटलमा सल्किएको आगो तरकारी पसलहरुमा फैलिएको हो ।
आगलागीको कारण खुलिनसकेको भएपनि विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । करिब ढेड घण्टापछि नेपाल प्रहरी, सशस्त्र र जनपथ प्रहरीसमेतको सहयोगमा हेटौंडा उपमहानगरपालिकाको २ वटा दमकल प्रयोग गरी आयो नियन्त्रणमा लिइएको हो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
