हेटौंडा मोडेल अस्पतालमा सिल
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१ स्थित हेटौंडा मोडेल अस्पतालमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले शिल गरेको छ । १० बेडको अनुमती लिएर स्वीकृतिभन्दा बढी बेड राखी सञ्चालन गरेको र अनुमति बिना फार्मेसी, ल्याब संचालन गरेको भन्दै अस्पताल शिल गरिएको हो ।
एनएसथेसियोलोजिस्ट डाक्टर नराखी एनएसथेसिया सहायकद्वारा विरामीलाई बेहोस बनाएर मेजर शल्यक्रिया गरिँदै आएको फेला परेपछि एनएसथेसियोलोजिस्ट डाक्टर उपलब्ध नभएसम्मका लागि प्रशासनले शल्यक्रिया कक्षमा पनि शिल गरेको हो ।
१५ दिन भित्र ल्याब, फार्मेशीलगायतको दर्ता अनुमति पत्र पेश गर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले बताए ।
अस्पतालमा मापदण्ड अनुसार कर्मचारी चिकित्सक नभेटिएको, आवस्यक कागजात नभेटिएको, फोहोरमैला ब्यवस्थापन नगरेको पाइएकोले सो विषयमा समेत प्रशासनले सचेत गराएको छ ।
अनुगमन टोलीमा हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईं, उपमहानगरपालिकाकै भैरवबहादुर कुमाल, स्वास्थ्य कार्यालय मकवानपुरका ठाकुर पौडेललगायतको उपस्थिति रहेको थियो ।
