मकवानपुरमा सवारी दुर्घटना हुँदा ८ जना घाइते

तु खबर संवाददाता
२०७९ आश्विन २७, बिहीबार ०९:३०

मकवानपुर । मकवानपुरको चार छुट्टाछुट्टै स्थानमा बुधबार भएको सवारी दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । जिल्लाको इन्द्रसरोवर गाउँपालिका, हेटौंडा उपमहानगरपालिका, थाहानगरपालिका र भीमफेदी गाउँपालिकाको विभिन्न स्थानमा दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बुधबार २ः४० बजेको समयमा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२ बतासेस्थित हेटौंडा–कुलेखानी–काठमाडौं सडकखण्डमा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज १९१४ नम्वरको सुमोले बिपरित दिशातर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ प ९८०९ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा क्रमशः मोटरसाइकल चालक दोलखा सैलुङ गाउँपालिका–१ दुध पोखरी घर भई हाल हेटौंडा–१६ हटिया बस्ने २८ वर्षीय आकाश खाती, उनको श्रीमती २८ वर्षीया सिता खाती र उनका छोरा ९ वर्षीय असिम खाती रहेका छन् ।

घाइते तीनै जनालाई उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरीले दुबै सवारीसाधन र सुमो चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यस्तै, बुधबार नै हेटौंडा– १७ बाबुचोकस्थित धरान–चतरा सडकखण्डमा ठुलोदमारबाट हटियातर्फ आउँदै गरेको  प्रदेश ३–०२–००९ प ८७५५ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

उक्त मोटरसाइकलले ठक्कर दिँदा बाटो क्रस गर्दै गरेको पैदलयात्री स्थानीय १४ वर्षीया अंसु बिक र १४ वर्षीया अंसुमा बिक ९जुम्ल्याहा दिदिबहिनी०घाइते भएका छन् । उनीहरु दुबै जनालाई चुरेहिल अस्पताल पठाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उनका अनुसार, उक्त मोटरसाइकल चालक पनि घाइते भएका छन् । घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

त्यस्तै, बुधबार नै मकवानपुरको थाहानगरपालिका वडा नम्वर १२ नौखण्डे नजिकै त्रिभुवन राजमार्गमा पालुङबाट हेटौंडातर्फ आउँदै गरेको  बागमती प्रदेश ०१–०२५ प ६५०० नम्वरको तरकारी लोड भएको पिकअप गाडीले बिपरित दिसातर्फ जाँदै गरेको बा ३३ प २५१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक थाहा–६ बज्रबाराही बस्ने ६८ वर्षीय जेठा स्यान्ताङ रहेका छन् । गाडीको ठक्करबाट शरिरको विभिन्न भागमा चोट र दाँया खुट्टामा चोट लागेका उनलाई उपचारको लागि काठमाडौं पठाइएको छ । प्रहरीले उक्त मोटरसाइकल, ठक्कर दिने गाडी र गाडी चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैगरी, बुधबार साँझ साढे ८ बजेको समयमा भीमफेदीगाउँपालिका–६ जुरिखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौ सडकखण्डमा हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ प ८७४३ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट खस्न गई दुर्घट्ना हँुदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा मोटरसाइकल चालक चितवनको खैरहनि नगरपालिका वडा नम्वर १ बस्ने २५ वर्षीय रमेश सिमखडा र पछाडी सवार २४ वर्षीय अनन्त राई रहेका छन् । दुर्घटनामा परेर घाइते भएका उनीहरुलाई उपचारको लागि हेटौंडा ल्याइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।