दुर्घटनामा गम्भीर घाइते भएका हेटौंडाका नेगीको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन २५, मंगलवार १४:५८
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङमा सोमबार साँझ कारले ठक्कर दिँदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम सडकखण्ड अन्तरगत बीरगंजबाट चितवनतर्फ जाँदै गरेको बा १६ च ३८७७ नम्वरको कारले ठक्कर दिँदा गम्भीर घाइते भएका हेटौंडा–३ बसामाडी बस्ने ३८ वर्षीय शम्सेर सिंह नेगीको मृत्यु भएको मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

प्रहरी निरीक्षक घिमिरेका अनुसार, सोमबार साँझ कारको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि चुरेहिल अस्पतालमा लगिएको थियो । उनको त्यहाँ उपचार हुन नसकेपछि सोमबार राति ११ बजे पुरानो मेडिकल कलेज भतपुर लगिएकोमा आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले कार, कार चालक चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ७ बसन्तपुर बस्ने ५० वर्षीय दुर्गाप्रसाद पौडेललाई नियन्त्रनमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।