मकवानपुरमा प्रतिनिधि सभातर्फ २६ जनाको मनोनयन दर्ता
मकवानपुर । मकवानपुरमा प्रतिनिधि सभातर्फ दुई क्षेत्रका लागि दल र स्वतन्त्र गरी २६ जनाले मनोनयन दर्ता गराएका छन् । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतबार भएको उम्मेदवारी दर्ता कार्यक्रम अन्तरगत मकवानपुरमा २६ जनाले प्रतिनिधि सभातर्फ मनोनयन दर्ता गराएका हुन् ।
जिल्लामा क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यमा २ जना स्वतन्त्रसहित १६ जना विभिन्न राजनीतिक दलले मनोनयन दर्ता गराएका छन् भने क्षेत्र नम्बर–२ बाट एक जना स्वतन्त्रसहित १० जना विभिन्न राजनीतिक दलले मनोनयन दर्ता गराएका हुन् ।
मकवानपुर–१ बाट प्रत्यक्षतर्फ चुनाव लड्न सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले मनोनयन दर्ता गराएकी छन् भने एमालेको समर्थनमा ‘सूर्य’ चिन्हबाट चुनाव लड्ने गरी राप्रपा नेपालका अध्यक्ष कमल थापाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै, सोही क्षेत्रमा राप्रपाबाट सो पार्टीका केन्द्रीय सदस्यसमेत रहेका दीपक बहादुर सिंहले पनि मनोनयन दर्ता गराएका छन् ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टाकाराज थापा, मौलिक जरोकिलो पार्टीबाट संगिन श्रेष्ठ, नेपाली कांग्रेस (बीपी)बाट सुरेन्द्र भट्टराई, मंगोल नेशलनल अर्गनाइजेशनबाट युवराज लामा, सचेत नेपाली पार्टीबाट पंचलाल तामाङ, मालेबाट कृष्णप्रसाद दाहाल, स्वतन्त्रबाट सुभाष पौडेल, आइतराम तामाङ, लोकतान्त्रिक समाजवादी पार्टीबाट रुपक लामा, नेमकिपाबाट शान्तलाल भैल, हाम्रो नेपाली पार्टीबाट दिपेन्द्रचन्द ठकुरी, जनता समाजवादी पार्टीबाट इन्द्रमान थिङ, जन समाजवादी पार्टीबाट मनबहादुर दाहालले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै, मकवानपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका विरोध खतिवडाले उम्मेदवारी दिएका छन् भने एमालेबाट महेश बर्तौलाले मनोनयन दर्ता गराएका छन् ।
यसैगरी, नेपाल मजदुर किसान पार्टीबाट रत्न प्रसाद प्रजापति, राप्रपाबाट राजन मैनाली, मंगोल नेशनल अर्गनाइजेशनबाट जीवन स्याङ्तान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भरत पराजुली, सचेत नेपाली पार्टीबाट कुलेन्द्र दीप विक्रम न्यौपाने, मालेबाट उद्धव प्रसाद अधिकारी, नेकपा नेशनलिष्ट पिप्लस पार्टीबाट तुला बहादुर लामा र स्वतन्त्रबाट प्रदिप कालाखेतीले मनोनयन दर्ता गराएका छन् ।
