जीप दुर्घटमा परेर चार जना घाइते

तु खबर संवाददाता
२०७९ आश्विन २२, शनिबार १६:३७

सुर्खेत । सुर्खेतको बराहतालको हल्दु भन्ने ठाउँमा मा फोर्स गाडी दुर्घटना परेर चार जना घाइते भएका छन् । कालिकोटबाट वीरेन्द्रनगर आउँदै गरेको लु २ ख ५००० नम्बरको उक्त फोर्स अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा दैलेखको दुल्लु नगरपालिका–३ का २९ वर्षीया कोपिला बुढा, वीरेन्द्रनगर नगरपालिका–४ का ३५ वर्षीया तुल्सी खड्का, अछाम कमलबजार नगरपालिका–४ का ३८ वर्षीया हरिबहादुर साउद र अछाम तुर्माखाँद गाउँपालिका–२ का ४५ वर्षीया गणेश शाही रहेका छन् ।

घाइते कोपिलाको हात र खुट्टामा चोट लागेको छ । उनको वीरेन्द्रनगरको माया नर्सिङ होममा उपचार भइरहेको छ भने बाँकी तीन जनाको कर्णाली केयरमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उक्त गाडीमा १६ जना सवार थिए । गाडी चालक कालिकोटको शुभकालिका गाउँपालका–३ का २८ बर्षीया शेरबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।