भीमफेदी कारागारका कैदीबन्दीलाई खसीसहित खाद्य सामग्री सहयोग
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले भीमफेदी कारागारका कैदीबन्दीलाई खसीसहित खाद्य सामग्री सहयोग गरेको छ ।
शनिबार पालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले कारागारमै पुगेर १ ओटा खसी, १० बोरा चामल र २ कार्टुन तेल हस्तान्तरण गरेका हुन् ।
कारागारमा रहेका कैदीबन्दीलाई दशैं मान्न राहत मिल्छ भनेर खसीसहित खाद्य सामग्री उपलब्ध गराइएको पालिकाका अध्यक्ष मुक्तानले बताए ।
यस्तै, उपाध्यक्ष मल्लले नेपालीहरुको महान चाड बडादशैंमा सबै रमाइरहेका बेला जेलमा रहेकाहरुलाई पनि दसैं मान्न सहज होस् भन्ने हेतुले खाद्य सामग्र्री उपलब्ध गराइएको बताए ।
कारागारका चौकीदार सन्देश कालाखेतीले दशैंको अवसरमा कैदीवन्दीलाई सम्झिएकोमा कैलाश गाउँपालिकालाई धन्यवाद दिए । भीमफेदी कारागारमा हाल ९ सय ९७ जना कैदीबन्दी रहेका छन् ।
