बागमती प्रदेशका प्रमुख राजमार्गमा ‘टाइम कार्ड’ लागू

तु खबर संवाददाता
२०७९ आश्विन १४, शुक्रबार १८:२०

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयले चाडपर्वको बेला हुन सक्ने दुर्घटना न्यूनीकरणको उद्देश्यका साथ प्रदेशका मुख्य राजमार्गहरुमा टाइम कार्ड लागू गरिएको छ ।

चाडपर्वका बेला सडकमा सवारी साधनको अत्याधिक चाप बढ्ने, तीब्र गतिमा सवारी साधन चलाउने तथा सवारी नियमको उल्ङ्घन समेत बढ्न गई दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले प्रदेश अन्तर्गतका मुख्य राजमार्गहरुमा टाइम कार्ड लागू गरिएको प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

उनका अनुसार, प्रदेशको बीपी राजमार्गस्थित भिमानदेखि नेपालथोक दुम्जासम्ममा पहिले देखिनै टाइम कार्ड लागू भएकोमा मकवानपुर, चितवन, धादिङ र काभ्रे जिल्लाका मुख्य राजमार्गमा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिको निर्णय गराई आजदेखि नियम लागू गरिएको हो ।

यसैगरी, मुग्लिङ नारायणगढ सडकखण्ड, पूर्व–पश्चिम राजमार्गको चुरियामाई हेटौंडादेखि चितवनसम्म, पृथ्वी राजमार्गको खानीखोला धादिङदेखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाटसम्म र विपि राजमार्गको मंगलटारदेखि काभ्रेमञ्ज्याङसम्म पनि टाइम कार्ड लागू गरिएको छ ।