ढुंगेधारा पर्यटन मञ्चद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

तु खबर संवाददाता
२०७९ आश्विन ८, शनिबार १७:२६

मकवानपुर । ढुंगेधारा पर्यटन विकास मञ्च एवम् ढुंगेधारा टोल विकास संस्था हेटौंडा–५ को आयोजनामा शनिबार शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम भएको छ ।

नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दिपावली एवम् छठ पर्वको अवसर पारी उक्त कार्यक्रमको आयोजना गरिएको संस्थाका सचिव शंकर खड्काले जानकारी दिए ।

कार्यक्रम संस्थाका अध्यक्ष पदमबहादुर बजागाईंको सभाध्यक्ष एवम् हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर बानियाँले समग्र वडाको विकासका लागि सबै एकजुट हुनुपर्ने बताए । एकअर्कासँग सहयोग समन्वयको भावना विकास गर्ने, सकारात्मक योजना ल्याउने, काम गर्न चाहानेलाई समर्थन गर्ने बानीको विकास गर्न सकेमात्रै समुन्नत समाज निर्माण हुने उनले बताए । उनले उपमहानगरवासीको हितका सम्दर्भमा सक्ने सहयोग गर्न आफु तत्पर रहेको बताए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ सुशिल घिमिरे, वडा सदस्यद्वय ज्ञानबहादुर थापा र रंजिता सिलवाल, नेकपा माओवादी केन्द्र वडा कमिटी अध्यक्ष देवनारायण लामिछाने भीसेनलगायत विभिन्न राजनीतिक दल, टोल विकास संस्थाका प्रतिनिधि एवम् वडावासीको उपस्थिति रहेको थियो ।