भीमफेदी दुर्घटना अपडेट : मृतकमध्ये ६ जनाको पहिचान खुल्यो
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ६ जुरिखेतमा बिहीबार दिउँसो भएको बस दुर्घटनामा परेर मृत्यु भएकामध्ये ६ जनाको पहिचान खुलेको छ ।
काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा ३ ख ७८५८ नम्वरको यात्रुबाहक बस भीमफेदी–६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना हुँदा मृत्यु भएका ७ जनामध्ये ६ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा नुवाकोट बस्ने ३५ वर्षीय रघुराज न्यौपाने, बाराको झिटकैया –४ बस्ने ३३ वर्षीय अन्दुलाहा मियाँ ठकुराइ, बाराको हरपुर गाउँपालिका वडा नम्वर २४ बस्ने २५ वर्षीय शेख अरमान, मकवानपुरको मकवानपुगढी गाउँपालिका–२ बस्ने ४३ को मदन बिक, पर्साको बिरगंज महानगरपालिका वडा नम्वर ३१ सक्कलपुर बस्ने ४५ वर्षीय हृदय नारायण पन्जियार र भारतको मोतिहारी बस्ने ३५ वर्षीय शरद नारायण शर्मा रहेका छन् ।
दुर्घटनामा मृत्यु भएका अन्य एक जनाको भने सनाखत गर्ने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । मृतक सबैको शव पोस्टमार्टमको लागि हाल हेटौंडा अस्पतालमा राखिएको छ ।
उक्त दुर्घटनामा परेर घाइते भएकामध्ये ४ जनालाई चितवनको मेडिकल कलेजमा पठाइएको छ भने अन्यको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
