भीमफेदी दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदीमा बिहीबार दिउँसो भएको सवारी दुर्घटना परेर मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । भीमफेदी गाउँपालिका वडा नम्वर ६ जुरिखेतमा भएको दुर्घटनामा परेर ६ जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जनाइएको छ ।
मृत्यु हुनेहरुमा तीन जना महिला, दुई जना पुरुष र दुई जना बालकालिका रहेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिइन् । दुर्घटनामा परेर मृत्यु भएकाहरुको हाल पहिचान खुल्न सकेको छैन ।
काठमाडौंबाट हेटौँडा आउँदै गरेको बा ३ ख ७८५८ नम्वरको यात्रुबाहक बस भीमफेदी–६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो ।
प्रहरी निरीक्षक कार्कीका अनुसार, उक्त बसमा ३५ जना सवार थिए । अन्य घाइतेहरुलाई उपचारको लागि हेटौंडा अस्पतालतर्फ ल्याइएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमको टोली पुगेको छ । उक्त दुर्घटनाबारे पुरै विवरण आउन बाँकी छ ।