बागमती प्रदेशः विश्वविद्यालयका लागि जग्गा छनौट गर्न कार्यदल गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारको मातहतमा रहने गरी स्थापना गर्न लागिएको विज्ञान प्रविधि विश्वविद्यालयका लागि जग्गा छनौट गर्न कार्यदल गठन गरिने भएको छ । विहिबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गा छनौटका लागि सामाजिक विकास मन्त्रालयका सचिव संयोजक रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
कार्यदलमा भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य रहने सरकारका प्रवक्ता कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । कार्यदल गठनले औपचारिकता पाएसँगै जग्गाको छनौट गर्ने र सोही जग्गामा विश्वविद्यालय स्थापना गर्ने कार्य चाँडै प्रारम्भ हुने उनले बताए ।
बैठकले ५० लाख रुपैयाँसम्मको योजनालाई उपभोक्ता समितिमार्फत् सम्पन्न गर्ने निर्णय गरेको छ । उपभोक्ता समितिले गर्न नसकेको अवस्थामा मात्रै टेन्डर प्रक्रिया अघि बढाइने उल्लेख छ ।
बैठकले दोलखाको जिरीमा निर्माण गर्न लागिएको मानव निर्मित ताल र धादिङको रुबी भ्यालीमा संचालन गर्न लागिएको योजनालाई प्रदेश गौरवको योजनाको रुपमा समावेश गर्ने पनि निर्णय गरेको हो ।
त्यस्तै केन्द्र सरकारले राष्ट्रिय खेलको रुपमा घोषणा गरेको जुनसुकै खेलमा स्वर्ण पदक पाउने खेलाडिलाई प्रदेश सरकारको तर्फबाट प्रोत्साहन भत्ता उपलब्ध गराउने पनि निर्णय गरिएकोे प्रवक्ता खनालले जानकारी दिए । त्यस्तै बैठकले पोल्ट्री व्यवसायीको हकहित संरक्षण गर्न पोल्ट्री व्यवसायी बोर्ड गठन गर्ने निर्णय गरेको छ ।