आसन्न निर्वाचनमा सहज मतदानकोे माग गर्दै आयोगलाई ज्ञापनपत्र

तु खबर संवाददाता
२०७९ भाद्र ३१, शुक्रबार १६:०८

मकवानपुर । अपाङ्ग स्वाबलम्बन जीवन पद्धति केन्द्र मकवानपुरले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहज मतदानको माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ ।

पद्धती केन्द्र मकवानपुरका अध्यक्ष दिलबहादुर स्याङ्बोको संयोजकत्वमा आज शुक्रबार एक कार्यक्रमबीच आयोग कार्यालय बागमती प्रदेश प्रमुख लुम्बनाथ पोखरेललाई ज्ञापनपत्र बुझाएको हो ।

आगामी निर्वाचनमा सबै मतदान केन्द्रमा अपाङ्गता भएका व्यक्तिहरुलाई अवरोधमुक्त वातावरण सिर्जना गर्न आग्रह गर्दै ४ बुँदे ज्ञापन पत्र बुझाएको हो । उक्त ज्ञापनपत्रमा आसन्न निर्वाचनमा परम्परागत प्रणाली हटाएर प्रविधिको सहयोग लिई विद्युतीय मतदान प्रणाली लागू गर्नुपर्ने माग गरिएको छ ।

परम्परागत मतदानले अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो मत जाहेर गर्ने अधिकार गुमाउँदै आएको उल्लेख गर्दै आगामी निर्वाचनमा प्रविधियुक्त मतदान स्थलको व्यवस्थापन गर्नुपने माग गरेको हो ।

पूर्ण र अति अशक्त अपाङ्गता भएका व्यक्तिका लागि मतदान स्थलमा सहजीकरणका लागि प्रत्येक बुँथ र मतदान स्थलमा अपाङ्गता सहायता कक्षको व्यवस्था हुनुपर्ने भन्दै प्रदेश निर्वाचन कार्यालयलाई ज्ञापनपत्र गराएका छन् । मकवानपुरमा १२ हजार ५ सय जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् ।