हेटौंडामा जनै बनाउने तालिम सुरु
मकवानपुर । नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीको आयोजनामा हेटौडामा सात दिने जनै बनाउने तालिम सुरु भएको छ । तालिममा मकवानपुरका ४३ जना महिला र ७ जना पुरुष गरी ५० जनाले सहभागिता जनाएका छन् ।
महिलाहरुले घरमै बसेर आयआर्जन गर्न सकुन् भन्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको महागुठीकी महासचिव गोमा गौतमले बताइन् । तालिममा हरिप्रसाद अधिकारी, जगनाथ अधिकारी र कृष्ण प्रसाद सिलवालले प्रशिक्षण गराइरहेका छन् ।
तालिमबाट महिलाहरुलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिइएको छ । सोही तालिममा महिलाहरुलाई मकैको खोस्टाबाट सजाउने फूल बनाउने सिप सिकाइने व्यवस्था रहेको महासचिव गौतमले बताइन् ।
सामुदायिक महिला विकास केन्द्रको व्यवस्थापनमा भइरहेको तालिमबाट महिलाहरुले जनै बनाउने सिप सिक्ने र उनीहरुले उत्पादन गरेको जनै महागुठीले नै खरिद गर्ने महासचिव गौतमले बताइन् ।
