प्रतिनिधि सभा बैठकः डेंगु नियन्त्रणको प्रयासबारे जानकारी गराउन माग

तु खबर संवाददाता
२०७९ भाद्र २९, बुधबार १४:२१
file-photo

काठमाडौँ । प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सांसदहरुले डेङ्गु नियन्त्रणका लागि सरकारले गरेको प्रयासबारे सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् ।

बैठकमा सांसद प्रेम सुवालले डेङ्गु रोगले जनता पीडित रहेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकारले के काम गरिरहेको छ भनेर स्वास्थ्य मन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग गरे ।

उनले सबै दलले समाजवादी व्यवस्थाको विचारधारा अपनाएको भएपनि त्यसलाई जनजीवनमा कार्यान्वयन गर्न कुनै काम नगरेको आरोप लगाए ।

सांसद खगराज अधिकारीले गुठीको समस्या समाधान गर्न हालै सरकारले अघि बढाएको गुठी विधेयकले कसरी समस्या समाधान गर्न सक्छ भनी सरकारसँग जवाफ माग गरे ।

उनले अघिल्लो सरकारले मुलुकभर एक सय ६५ निर्वाचन क्षेत्रमा अघि बढाएका सडक आयोजनाका लागि वर्तमान सरकारले बजेट निकासा नगरेको आरोप लगाए ।