मकवानपुरको ३ ठाउँमा सवारी दुर्घटना, ४ जना घाइते

तु खबर संवाददाता
२०७९ भाद्र २९, बुधबार १४:०८

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।

मंगलबार हेटौडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको ना ५२ प २०० नम्वरको मोटरसाइकलले हेटौंडा– ९ निवासी दिपेश अर्याललाई सडक छेउमा डिँडिरहेको अवस्थामा ठक्कर दिएर भएको दुर्घटनामा पैदलयात्रु अर्याल र मोटरसाइकल चालक हेटौंडा– १५ रातोमाटे निवासी ससी लामा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते दुवैलाई उपचारको लागि चुरेहिल अस्पताल लगिएकोमा चालक लामाको अवस्था सामान्य रहेको भएता पनि पैदलयात्रु अर्यालको अवस्था गम्भीर रहेकोले उनलाई थप उपचारको लागि चितवन मेडिकल कलेज रिफर गरिएको छ ।

त्यस्तै हेटौंडा– १५ रातोमाटेबाट हेटौंडातर्फ आउदै गरेको ना ५३ प ३३१० नम्वरको स्कुटरलाई ना ६ ख ३४६६ नं।को ट्रकले ठक्कर दिंदा स्कुटर हेटौंडा निवासी ३२ वर्षीया सुस्मा भट्टराई घाइते भएको र उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ ।

मंगलबार नै हेटौंडा ५ स्थित भित्रि सडकखण्डमा शन्तिनगरबाट सहमील जादै गरेको ना ४३ प ८२६८ नम्वरकोे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौंडा– ४ बस्ने २८ वर्षीय अमृत मैनाली गम्भीर घाइते भएको र उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।