मकवानपुर क्षेत्र नं. १ मा गौतमको नाम सिफारिस

तु खबर संवाददाता
२०७९ भाद्र २३, बिहीबार १७:३१

मकवानपुर । आसन्न निर्वाचनमा प्रतिनिधि सभाका लागि मकवानपुर क्षेत्र नम्वर १ बाट प्रत्यक्षतर्फ चुनाव लड्न एकीकृत समाजवादी पार्टीले घनप्रसाद गौतमको नाम सिफारिस गरेको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि मकवानपुर १ को प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनाउन एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका गौतमको नाम सिफारिस गरिएको हो ।

राप्रपाका नेता कमल थापा, नेपाली कांग्रेसकी नेतृ डिना उपाध्याय र इन्द्र बाँनिया तथा एमालेका सांसद कृष्ण प्रसाद दाहाल जस्ता हेवीवेट नेताहरु भएको मकवानपुर क्षेत्र नं. १ मा एकीकृत समाजवादीको तर्फबाट गौतमको नाम सिफारिस गरिएको हो ।

२०३८ सालमा विद्यार्थी आन्दोलन हुँदै नेपालको राजनीतिमा छिरेका गौतम एकीकृत समाजवादीका कानून फाँटका इन्चार्ज समेत हुन् । २०४८ सालको स्ववियु निर्वाचनमा नेपाल ल क्याम्पसमा अध्यक्ष पदका प्रत्यासी बनेका गौतम मकवानपुरका प्रभावशाली नेता मानिन्छन् ।