मकवानपुरमा ७५६ जनामा डेंगु पुष्टि
मकवानपुर २२ भदौ । मकवानपुरमा डेंगु रोगका संक्रमित दिनहुँ बढ्न थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार बुधबार साँझसम्ममा डेंगुका सक्रिय संक्रमितको संख्या ७५६ रहेको छ ।
कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार हालसम्म मकवानपुरमा डेंगुबाट कसैले पनि ज्यान गुमाएका छैनन् । हेटौंडा अस्पताल, चुरेहिल अस्पताल र अन्य मेडिकलहरुमा परीक्षण गराएकामध्ये दैनिक ५० देखि ६० जनामा डेंगुको संक्रमण पुष्टि हुने गरेको छ ।
संक्रमित अधिकाँश बालबालिका रहेको हेटौंडा अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईंले जानकारी दिए । उनका अनुसार अस्पतालमा दैनिक १६/१७ जनामा डेंगु पुष्टि भइरहेको छ । दैनिक झण्डै डेढदेखि दुई सयको संख्यामा परिक्षण भइरहेको छ ।
सामान्य अवस्थाका विरामीलाई चिकित्सकको प्रत्येक्ष सम्पर्कमा रहने गरी घर पठाउने र ज्वरो बढी आएका तथा गम्भिर अवस्थाका विरामी अस्पताल भर्ना गरिएको उनले बताए ।’ चौलागाईंले भने ।
डेंगु एडिस एजिप्टाई नामको पोथी लामखुट्टेको टोकाईबाट सर्ने संक्रमण रोग भएकाले लामखुट्टेको टोकाइबाट बँच्न चौँलागाईले सुझाव दिए । हेटौंडा अस्पतालमा डेंगु परीक्षणको लागि किटको समस्या नभएपनि पर्याप्त भने नभएको उनले बताए ।
