डेंगू परीक्षणको शुल्कमा एक रूपता कायम गरिने

तु खबर संवाददाता
२०७९ भाद्र २२, बुधबार ०९:५८

काठमाडौं  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगू परीक्षणको शुल्कमा एक रूपता कायम गर्ने भएको छ । सरकारी र निजी दुवै खालका स्वास्थ्य प्रयोगशालाले न्यूनतम ४ सयदेखि ३ हजार ४ सय रुपियाँसम्म लिने गरेका थिए ।

डेंगू परीक्षण गर्ने किट विभिन्न दातृ निकायले निःशुल्क दिने गरेका छन् । यसरी निःशुल्क दिएको किटमा समेत सरकार मातहतका निकायले महँगो शुल्क लिने गरेका छन् ।

मन्त्रालयमा सरोकारवाला निकायबीच मङ्गलबार भएको बैठकमा एक रूपता कायम गर्ने सहमति भए पनि त्यस्तो शुल्क निर्धारण भने भएको छैन । निजी क्षेत्रका अस्पताल र सरोकारवालाको समेत सुझावका आधारमा एक साताभित्रै सहमति गरिनेछ । डेंगू परीक्षणमा अस्पताल र प्रयोगशाला पिच्छे फरक–फरक शुल्क लिने गरेको भन्दै उक्त शुल्कमा कोभिड–१९ परीक्षण जस्तै एकरूपता गर्ने विषयमा छलफल भएको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले डेङ्गु परीक्षण शुल्कमा एक रूपता गरिने जानकारी दिए । केही दिनभित्रै डेंगू परीक्षण शुल्कमा एक रूपता गर्ने गरी सम्बन्धित निकायलाई सुझाब ल्याउन निर्देशन दिएको उनले बताए ।