हेटौंडा अस्पताललाई डेंगू परीक्षण गर्ने किट सहयोग
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताललाई डेंगू संक्रमण परीक्षण गर्ने किट सहयोग गरिएको छ । अस्पताललाई हेटौंडा उपमहानगरपालिकाले १ हजार १ सय ५० थान किट सहयोग गरेको हो ।
उक्त किट मंगलबार हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रामचन्द्र सापकोटालाई एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् । किटको अभावका कारण उपचारमा समस्या भएको जनगुनासोपछि संक्रमितको उपचारमा सहयोग पुर्याउने उद्देश्यसहित उपमहानगरपालिकाले किट उपलव्ध गराएको उपमहानगरपालिकाका उपप्रमुख बानियँले बताए ।
यस्तै, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सापकोटाले किटको अभावमा डेंगूको आशंका लागेर अस्पतालमा उपचारका लागि आएका बिरामीको परीक्षणमा समस्या भइरहेको समयमा हेटौंडा उपमहानगरपालिकाले किट सहयोग गरिएको भन्दै खुसी व्यक्त गरे ।
