सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै

तु खबर संवाददाता
२०७९ भाद्र २०, सोमबार ०९:१९
file-photo

काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको कार्यदल सदस्य एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

आइतबार बसेको सत्ता घटकका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँटको औपचारिक खाका ल्याउन कार्यदललाई भनेको थियो । दुई दिनभित्रै सिट बाँडफाँटलाई टुंगोमा पुर्याउने गरी खाका ल्याउन भनिए अनुसार कार्यदलको बैठक आज बस्न लागेको एक सदस्यले जानकारी दिए ।

कार्यदलले सहमति जुटाएर शीर्ष नेताहरुसमक्ष प्रस्ताव लैजाने छ । सोही सिफारिसका आधारमा शीर्ष नेताहरुले अन्तिम निर्णय गर्नेछन् । कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।