दुर्घटनामा परेर दुई प्रहरीको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र १८, शनिबार १६:२८

सुनसरी । सुनसरीको कोसी गाउँपालिका–१ मा आज शनिबार सवारी दुर्घटनामा परेर दुई जना प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सप्तरी सप्तकोसी नगरपालिका–३ का प्रहरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश गोजेवार रहेका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६० प ४४९२ नम्वरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को २ च २६४९ नम्वरको पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, ठक्करबाट चौधरीको घटनास्थलमा र गोजेवारको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो । चौधरी श्रम तथा रोजगार मन्त्रालय प्रदेश नं १ मा कार्यरत थिए भने गोजेवार मोरङको धनपतिमा कार्यरत थिए ।

दुबैको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । ठक्कर दिने सवारीसाधनका चालक कोसी गाउँपालिका–३ का दीपक गोसाईँलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।