भारतमा बस दुर्घटना हुँदा ४ नेपालीको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र १८, शनिबार १५:५६
सांकेतिक तस्वीर

काठमाडौं । भारतको बराबंकी जिल्लामा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा ४ जना नेपालीको मृत्यु भएको छ । रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक शनिबार बिहान ट्रकले ठक्कर दिँदा चार जना नेपालीको मृत्यु भएको हो ।

गोवा जाँदै गर्दा युपी ९३ बि.टि. ९९४४ नम्वरको डबल सिटे बसको टायर पन्चर भएपछि सडक छेउमा रोकेर चालकले टायर फेर्दै थिए । त्यसैबेला पछाडिबाट ट्रकले ठक्कर दिएको जनाइएको छ ।

त्यस्तै, सोही दुर्घटनामा परेर २४ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । टाइम्स अफ इन्डियाका अनुसार घाइतेको बाराबंकी जिल्ला अस्पताल र लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

बसमा करिब ६० जना नेपाली मजदुर रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।