मकवानपुरमा डेंगू संक्रमण बढ्दो, नियन्त्रणका लागि घरदैलो अभियान

तु खबर संवाददाता
२०७९ भाद्र १७, शुक्रबार ०९:२५
file-photo

मकवानपुर । मकवानपुरमा डेंगू संक्रमितको संख्या बढ्दो छ । केही सातादेखि फैलिएको उक्त संक्रमण नियन्त्रणका लागि घरदैलो अभियान संचालन गर्ने भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा डेंगू सङ्क्रमण बढ्दै गएपछि घरदैलो अभियान संचालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, ५, १० र ११ मा केही सातादेखि फैलिएको डेंगू सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । ती चार वटै वडामा बिहीबार अपराह्नसम्म ५ सय ३५ जनामा डेगू संक्रमितका बिरामी फेला परेका छन् ।

उक्त संक्रमणलाई नियन्त्रण गर्न विभिन्न विधि अपनाएको भए पनि अझै नियन्त्रणमा आउन नसकिएकाले उपमहानगरपालिकामा भदौं १९ गतेदेखि १९ वटै वडामा घरदैलो अभियान संचालन गर्न लागिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक तिवारीले बताए ।

यस्तै, जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर २, ४, ५ र ६ मा ९५ डेंगूका बिरामी फेला परेका छन् । वरिष्ठ जनस्वास्थ्य अधिकृत तिवारीका अनुसार, मनहरीमा बिहीबारसम्म ९५ जना डेंगू रोगका संक्रमित फेला परेका  हुन्  । मनहरीमा पनि भदौं १९ गतेदेखि घरदैलो अभियान संचालन गर्ने तयारी गरिएको छ ।

जिल्लाको अन्य पालिकामा भने डेंगू संक्रमितको संख्या थोरै मात्रामा मात्रै फेला परेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।जिल्लाका डेंगूबाट प्रभावित संक्रमितलाई तत्काल उपचार गर्न जिल्ला स्वास्थ्य कार्यालय र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा काठमाडौंको वीर अस्पताल, पाटन अस्पताल र त्रिभुवन शिक्षण अस्पतालमा उपचारका लागि पठाइएको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईँले जानकारी दिए ।

डेंगूबाट सामान्य प्रभावितलाई भने हेटौंडा अस्पताल, चुरेहिल अस्पताल र चितवनको भरतपुर अस्पताल भर्ना गरी उपचार थालिएको छ । डेंगूको पहिचान गर्न किट पर्याप्त मात्रा नहुँदा उपलब्ध गराइदिन हेटौंडा उपमहानगरपालिकाले संघीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसमक्ष माग गरेको चौलागाईंले बताए ।