मुख्यमन्त्री पाण्डेद्वारा जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुगमन

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुगमन गरेका छन् । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानीलगायत अन्य सिफारिसलगायतका सेवाबारे उनले सेवाग्राहीसँग बुझ्नुको साथै सम्बन्धित कक्षमा नै पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए ।
सेवाग्राहीलाई छिटो छरितो सेवा उपलब्ध गराई उनीहरुलाई सेवा लिन आउँदा आवश्यक पर्ने पूर्वाधारको विकास गर्न र सेवालाई प्रविधिमैत्री बनाउँदै लैजान उनले निर्देशन दिए ।
त्यस्तै आसन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निश्पक्ष एवम् भयरहित बनाउन आवश्यक शान्ति सुरक्षा उपलब्ध गराउनेतर्फ पनि सुरक्षा रणनीति तयार गर्न उनले आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले प्रशासनिक सेवा तथा अर्धन्यायीक मुद्धाको फच्छ्र्यौट, नागरिक सेवा, राहदानी सेवा, तथा अन्य सिफारिस सेवाहरु, जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे मुख्यमन्त्री पाण्डेलाई जानकारी गराएका थिए ।