आज हरितालिका तीज
मकवानपुर । हिन्दु नेपाली महिलाहरुले भगवान महादेवको पूजाआराधना गरी आज हरितालिका तीज हर्षल्लासका साथ मनाउँदैछन् । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।
अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन छ । तीजको दिनभन्दा केही अघिदेखि नै नाचगान गर्ने गरिन्छ । पछिल्लो समय भने तीज केही भड्किलो भएकोमा संस्कृतविद्हरू चिन्ता व्यक्त गर्दछन् ।
आजका दिन पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर महिलाहरूले तीज मनाइरहेका छन् । हेटौंडाको पशुपति मन्दिरलगायत शिवालयहरुमा व्रतालु महिलाहरूको भीड लाग्ने गर्दछ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर, यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन् ।
अटल सौभाग्यको कामनाका लागि व्रत बस्ने गर्छन् । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरुको मत छ ।
तीज पर्वको अवसरमा सरकारले यो वर्ष पनि महिलालाई बिदा दिएको छ ।