तीज पर्व : आज दर खाने दिन

तु खबर संवाददाता
२०७९ भाद्र १३,सोमबार ०८:५०
file-photo

मकवानपुर । हिन्दु महिलाले मनाउने तीज पर्वअन्तर्गत् आज दरखाने दिन । विभिन्न मिठा परिकारका साथ दरखाने चलन छ । आज चेलीबेटी बोलाएर दर खुवाउने गरिन्छ ।

माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफुललगायत परिकारलाई दरका रुपमा खाने गर्दछन् । दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक छ । कतै साँझमा अन्य चिज नखाइ दर खाने प्रचलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यर तमा दरखाने गरिन्छ ।

पहिले हरितालिका तीजको अघिल्लो दिन एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोलि एक महिना अघिदेखि नै दरखाने प्रचलन सुरु भएको छ । दर खाएको भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिकतत्व भएको खानेकुरा खाने चलन रहेको छ ।

हरितालिका तीजका बेला पानीसमेत नखाइ ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुने गर्दछ । त्यसैले दरखाने चलन बसेको बताइन्छ । परापूर्वकालमा देवी पार्वतीले शिवलाई पतिका रुपमा पाउन निराहार व्रत बसेको र कामना पूरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्ने चलन छ ।