हेटौंडामा सवारी दुर्घटना, एकको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र १२, आईतवार १८:५२

मकवानवुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ एचआइडिमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

हेटौंडाबाट बारातर्फ जाँदै गरेको ग २२ प ६१३ नम्वरको मोटरसाइकल सोही दिशातर्फ जाँदै गरेको ना ४ ख ९६०३ नम्वरको ट्रकलाई ओभरटेक गर्ने क्रममा आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार नेपाली सेना राजदल गण खैरहनीटार तनहुमा कार्यरत २५ वर्षीया श्रृजना बिक रहेका छन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रृजनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

यस्तै, सोही दुर्घटनामा परेर मोटरसाइकलका चालक पर्सा ठोरी गाउँपालिका–२ घर भई नेपाली सेना राजदल गण खैरहनीटार तनहुमा कार्यरत २९ वर्षीय आदर्श बिक र उनका ५ वर्षीय छोेरा आशिक बिक घाइते भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

प्रहरीका अनुसार, मृतक श्रृजना र आदर्श श्रीमान् श्रीमती हुन् । प्रहरीले ट्रक तथा चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवशयक अनुसन्धान गरिरहेको जनाएको छ ।