नेता बानियाँद्वारा ५०० विपन्न घरपरिवारलाई खाद्यान्न वितरण
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाका गरिब, विपन्न चेपाङ, तामाङ तथा लोपोन्मुख बनकरिया समुदायका ५ सय घरपरिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
जिल्लाको मनहरी गाउँपालिकाको ४, ५ र ६ नम्वर वडाको नयाँबस्ती, बनकरिया, अजिंगरे, चिसापानी, रुपाचुरी, खरिवाङ, लोथर, खयरघारी, चौकीटोल, नयाँबस्ती, प्रतापपुर क्षेत्रका चेपाङ, बनकरिया तथा तामाङ समुदायका गरिब, विपन्न परिवारका ५ सय घरपरिवारलाई खाद्य सामाग्री सहयोग गरेका हुन् ।
खाद्य सामाग्री हस्तान्तरण गर्दै नेता बानियाँले नेपाली कांग्रेस प्रत्येक दिनदुःखी, असहाय, गरिबको सेवामा सधैं समर्पित रहने बताउँदै कम्युनिष्टले जस्तो फुस्रो र छलकपट जस्ता आश्वासन नदिने बताए ।
नेता बानियाँले चार्डबाडको मुखमा गरिब र विपन्न जनतालाई केही राहत हुने लक्ष्यका साथ सानो सहयोग गरेको बताउँदै जनताको दुःख, पीडा र साथ सहयोगमा कांग्रेस सधैं रहिरहने बताए ।
नेता बानियाँले मनहरी गाउँपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिहरुलाई भूगोलको आवश्यक्ता अनुसार विकास निर्माण र जनताको मन जितेर काम गर्न निर्देशन दिँदै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु जनताको मनमा बस्न सफल हुनसमेत शुभकामना दिए ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्यद्वय जानकी लामा र कैलाश कोइराला, मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, वडा अध्यक्षहरु शिव खनाल, अनन्त अर्याल, युवराज थपलिया, ठाकुरराम तितुङ, नारायण उप्रेती, राजकुमार श्रेष्ठ, वडा सभापति आईतसिं तितुङ, महाधिबेशन प्रतिनिधि शेरबहादुर परियारलगायत मनहरीका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
