मकवानपुरमा मिटरब्याजीविरुद्ध ११ उजुरी
काठमाडौं । मकवानपुरमा मिटरब्याजीविरुद्ध ११ वटा उजुरी परेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । सरकारले गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसाललाई संयोजक बनाएर चर्को ब्याज लिनेविरुद्ध अभियान नै संचालन गरेपछि मकवानपुरमा पनि चर्को ब्याजबाट पीडित हुनेले उजुरी दर्ता गराएका हुन् ।
मिटरब्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएको सो कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकरी दिए । साथै यो उजुरीको क्रम बढ्ने अनुमान रहेको उनको भनाई छ ।
मिटरब्याजीबाट दुःख पाएकाहरूका बारेमा अध्ययन गर्न सरकारले कार्यदल नै बनाएर देशभरिका ७७ जिल्ला प्रशासन कार्यालयमा पीडितलाई निर्धक्क भएर उजुरी दिन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन आएको उजुरीका सम्बन्धमा प्रजिअले सम्बन्धित पक्षलाई झिकाएर नियमसङ्गत लेनदेन भएको भए आपसी सहमतिमा उजुरी छिनोफानो गर्न निर्देशन दिइएको छ । सहमति हुन नसकेको खण्डमा उजुरीका सम्बन्धमा कानुनी प्रक्रिया सुरु गर्न प्रहरी कार्यालयमा पठाउन भनिएको छ ।
जिल्ला प्रशासन कार्यालयलाई दिइएको निर्देशनमा स्थानीय निकाय तथा जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकार नपर्ने उजुरीको सम्बन्धमा गृह मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिइएको बताइएको छ । मिटरब्याजीको समेत आम्दानीको आर्थिक स्रोत, जायजेथा तथा सम्पत्तिको स्पष्टता र अनुसन्धान गरी ठूला कारोबारको सम्बन्धमा विशेष छानविन गर्न गृह मन्त्रालयबाट भनिएको छ ।
