अझै ५२ स्थानीय तहको बजेट पेश हुन बाँकी
काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भई एक महिनाभन्दा बढी समय बितिसक्दा पनि ५२ वटा स्थानीय तहले अझै बजेट पेश गर्न गरेको छैनन् । देशभरकास्थानीय तहमध्ये ५२ वटा स्थानीय तहले आर्थिक वर्ष २०७९÷०८० को बजेट पेश नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, बजेट पेश नगर्नेमा सबैभन्दा धेरै मधेश प्रदेशका स्थानीय तह रहेको छ । मधेश प्रदेशमा ३५ वटा स्थानीय तहले चालु आवको बजेट पेश नगरेको हो । यसैगरी, प्रदेश १ का २, बागमती प्रदेशका ३, लुम्बिनी प्रदेशका ७, कर्णाली प्रदेशका ३ र सुदूरपश्चिम प्रदेशका २ स्थानीय तहले बजेट पेश नगरेका हुन् ।
हालसम्म गण्डकी प्रदेशको मात्र सबै स्थानीय तहले बजेट पेश गरिसकेका छन् । मन्त्रालयका अनुसार कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ७०१ वटा स्थानीय तहले बजेट पेश गरिसकेका छन् ।
