शिक्षण अस्पतालबाट भागेका कैदी पक्राउ

काठमाडौं । आँखाको उपचार गर्न जाँदा काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालबाट भागेका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालबाट भागेका कैदी भोला बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।
बुढाथोकीलाई ललितपुरको लुबुबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, नख्खु कारागारमा ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका बुढाथोकीलाई जिल्ला प्रहरी परिसर ललितपुरका वरिष्ठ प्रनानी रमेश बजगाईं नेतृत्वको टोलीले पक्राउ गरेको हो ।
रामेछाप घर भएका ३८ वर्षीय भोला बुढाथोकीलाई बुधवार प्रहरीले उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा लगेको थियो । प्रहरीको आँखा छलेर उनी भागेको नख्खु कारागारका जेलर सुवास कुमार लामिछानेले जानकारी दिए ।
आँखामा झुसिलकिरा बिझेर उपचार गराइरहेका बुढाथोकीलाई प्रहरीले फलोअपका लागि शिक्षण अस्पतालमा लगेको थियो । नख्खु कारागारको बाहिरी सुरक्षा व्यवस्थाको जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिइएको छ । तर, थुनुवा ओसार, पसार र आपराधिक गतिविधिको निगरानी गर्न प्रहरीको टिम परिचालन गरिएको छ । सो घटनाबारे उपत्यका प्रहरी कार्यालयले आवश्यक छानविन गरिरहेको जनाइएको छ ।