प्रतिनिधि सभामा शोक प्रस्ताव पारित
काठमाडौं । प्रतिनिधि सभाको आज बसेको बैठकमा प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित भएको छ । बैठकले प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो ।
गिरीको गत शनिवार राति ९ः३० बजे उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो । गिरी नेपाली कांग्रेस पार्टीबाट वि.सं. २०५१ सालमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
त्यस्तै वि.सं. २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित भएका थिए भने वि.सं. २०७४ सालमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । प्रतिनिधि सभाको अर्को बैठक भदौ ७ गते मंगलवार बिहान १० बजे बस्ने गरी बोलाइएको छ ।
