कन्सल्टेन्सिहरुलाई नियमन गर्न नयाँ ऐन बनाउँदैछौँ: मन्त्री पौडेल

मकवानपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नयाँ शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताएका छन् । हेटौंडामा प्रेस सेन्टर मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नयाँ शिक्षा ऐन जारी गरी शिक्षा प्रणालीलाई सुधार एवम् विकास गरिने बताए ।
शिक्षा ऐन २०२८ को आधारमा मुलुकमा शिक्षा प्रणाली संचालन भइरहेको उल्लेख गर्दै उनले चाँडै नयाँ शिक्षा ऐन जारी गरिने बताए । प्रदेश र स्थानीय सरकारले नयाँ शिक्षा ऐन जारी गरेको भएपनि संघ सरकारले ऐन ल्याउन नसक्दा कार्यान्वयनमा समस्या हुँदै आएको थियो ।
त्यस्तै मन्त्री पौडेलले कन्सल्टेन्सीहरु, विदेशी विश्वविद्यालयबाट अनुमति पाएका शैक्षिक परामर्श संस्थाहरु, सिटिइभिटि र प्रतिष्ठानबाट पाएको अनुमतिको आधारमा संचालन भइरहेका शैक्षिक संस्थाहरुलाई कानून बनाएर नियमन गरिने बताए ।
उनले २ वटा विश्वविद्यालय थप भएको जानकारी दिए । योगमाया आयुर्वेदिक विश्वविद्यालय र मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय थप भएको उनको भनाई छ ।
चालु आवमा शिक्षालाई सिप र रोजगार एवम् व्यवहारिकतासँग जोड्न १४० विद्यालयहरुमा पढ्दै कमाउँदै कार्यक्रम संचालन गरिएको, विभिन्न समस्यामा परेका शिक्षकहरुको समस्या समाधानको पहल सुरु गरिएको उनले बताए ।
मन्त्री पौडेलले पूर्वाधार विकासको क्षेत्रमा पनि उल्लेखनीय कार्य भएको बताए । गत आर्थिक वर्षमा २ हजार ३ सय विद्यालय निर्माण कार्य सम्पन्न भएको र चालु आर्थिक वर्षमा देशैभरी १२ हजार विद्यालय निर्माण गरिने उनले बताए । विद्यार्थी संख्याको आधारमा विद्यालय मर्ज गरिने, दरबन्दी मिलान गरिनेललगायतका कार्यलाई उच्च प्राथमिकता दिई शिक्षा क्षेत्रलाई व्यवस्थित तुल्याइने पौडेलले बताए ।